सेल्टर नेपालको आयोजनमा केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबलसम्बन्धि कार्यक्रम हुने भएको छ।
सेल्टर नेपालले आज पत्रकार सम्मेलन गर्दै प्रिजन फुटबल रिहाबीलिटेसन थु्र फुटबल नामक कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ।
आयोजकका अध्यक्ष खुश्बु ओलीका अनुसार एसियन फुटबल कन्फेडेरेसन (एएफसी) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँगको सहकार्यमा उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो।
कारागारका कैदीबन्दीले सजाय भुक्तान गरिसकेपछि पुन गलत बाटोमा नजाउन र उनीहरुमा सामाजिक कार्य तथा देशप्रति योगदान गर्ने भावना जगाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गर्न लागिएको बताइएको छ।
उक्त कार्यक्रम यही जेठ २२ गतेदेखि सुरु हुनेछ। यो कार्यक्रम एक वर्षभित्र दुई चरणमा सञ्चालन हुनेछन्। यो कार्यक्रमबाट एक वर्षभित्र कूल ४८ खेलाडी तथा ३२ जना प्रशिक्षक र रेफ्री प्रशिक्षण गर्ने कार्यक्रम छ।
पहिलोचरण जुनदेखि नोभेम्बर ३० तारिखसम्म सञ्चालन हुनेछ । यस चरणमा २४ खेलाडी तथा १६ प्रशिक्षक र रेफ्री उत्पादन गर्ने योजना रहेको छ। यो प्रशिक्षणका लागि प्राविधिक सहयोगमा केन्द्रीय कारागार प्रशासनले छनोट गर्नेछ।
दोस्रो चरणको प्रशिक्षण डिसेम्बर १ देखि आगामी वर्षको मे १ मा सकिनेछ।