नेपाली काँग्रेसका सांसद विनोद चौधरीले देशभित्रै सबल शैक्षिक संस्था निर्माण गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
युवामा नैराश्यता आउनु सबैभन्दा ठूलो समस्या भएको तथ्य पेश गर्दै उनले हरेक दिन हजारौँ युवा विदेशिने अवस्थाको अन्त्यका लागि प्रयत्न गर्नुपर्ने बताए ।
विदेश पढ्न जाने विद्यार्थीले वार्षिक अर्बौं रुपैयाँ लिएर गएको भन्दै उनले त्यसलाई रोक्न देशभित्रै सबल शैक्षिक संस्था निर्माण गर्नुपर्ने बताए। शिक्षाको क्षेत्रमा व्यापक एउटा वपन ल्यबोर पोलिसी ल्याउन सके बाहिर जाने लगानी देशमै बस्ने उनको भनाई थियो । अघिल्लो सरकारले सात लाख युवालाई रोजगारी दिने घोषणा गरे पनि ७० हजारलाई त्यो पनि ११ दिन मात्रै दिएको बताए ।
हालैमात्र सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले उत्साह थपेको र केही समयभित्रै पोखरा विमानस्थल पनि सञ्चालनमा आउने तथ्य पेश गर्दै उनले भारत र चीनबाट ५० लाख पर्यटक भित्र्याउन सकिए बेरोजगारी समस्याको समाधान हुने बताए । यस्तै चौधरीले अहिले नेपालको अर्थतन्त्रमा समस्या देखिनुको पछाडि वर्तमान सरकारको कुनै पनि दोष नभएको टिप्पणी गरे ।