निर्वाचन आयोगले बढीमा पाँच दिनभित्र सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न गर्न मातहतका अधिकारीलाई निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा तोकिएकै मितिमा मतगणना सम्पन्न गर्न प्रयास भइरहेको र विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकामा पनि ५ दिनभित्र मतगणना सम्पन्न गर्न निर्देशन दिएको हो ।
‘यही वैशाख ३० गते मतदान सञ्चालनकै क्रममा केही पालिकाका केही मतदान केन्द्रमा अनपेक्षित अवस्था सिर्जना भई मतदान स्थगन भएकोमा त्यस उपरान्त विभिन्न मितिमा मतदान कार्य सम्पन्न हुँदै गइरहेको छ । वैशाख ३० गते निर्वाचन सम्पन्न भएका पालिकाहरुको मतगणना कार्य प्रारम्भ भई आज मध्यान्हसम्म चार सय ६० पालिकाहरुको अन्तिम परिणाम प्राप्त भइसकेको र अन्यको परिणाम धमाधम आइरहेको छ ।
परिणाम आउन बाँकी पालिकाहरुमा मतगणना कार्य २०७९ जेठ ५ गतेसम्म सम्पन्न गर्न आयोगका तर्फबाट अधिकतम् प्रयास भइरहेको कुरा सबैमा जानकारी गराउन चाहन्छौँ’, आयोगको विज्ञप्तिमा भनिएको छ, ‘धेरै मत गणना गर्नुपर्ने महानगर र उपमहानगरपालिकाहरुका हकमा बढीभन्दा बढी मत गणना टोली व्यवस्था गरी तोकिएको समयभित्र मतगणना कार्य सम्पन्न गर्नका लागि यसअघि नै आयोगबाट भएको निर्देशनलाई आयोग पुनः स्मरण गराउन चाहन्छ । साथै विभिन्न कारणबाट मतदान स्थगन भएका पालिकाको हकमा मतदान सम्पन्न भएकै दिन मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भइसकेपछि यथाशिघ्र गणना प्रारम्भ गरी बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न-गराउन आयोग निर्देश गर्दछ ।’
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा सम्पन्न गराउने आयोगको संवैधानिक दायित्व र जिम्मेवारीलाई पूर्णरुपमा सफल पार्नका लागि सबै राजनीतिक दल, उम्मेदवार, आमसञ्चार जगत, नागरिक समाजलगायत सबै सरोकारवालाको उत्तिकै साथ र सहयोग अपरिहार्य रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।