नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग आगामी असोज दोस्रो सातादेखि हुने भएको छ।
युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले उक्त प्रतियोगिताको औपचारिक घोषणा क्यानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गरे। प्रतियोगिता आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुनेछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता रहने क्यानले जनाएको छ। क्यानले यसअघि नै प्रेस विज्ञप्तिमार्फत उक्त प्रतियोगिताको घोषणा गरेपनि मिति भने सार्वजनिक गर्न सकेको थिएन।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको आधिकारिक टी ट्वान्टी लिगको औपचारिक घोषणा गर्न पाउँदा खुसी लागेको भन्दै उक्त प्रतियोगिताले पर्यटकीय र व्यावसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास व्यक्त गरे।
नेपाल टि–२० लिगमा ए, बी र सी ग्रेडमा रहने खेलाडीले कम्तिमा क्रमश ः १५ लाख, १० लाख र ५ लाख पाउने क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले कार्यक्रममा जानकारी दिए।
प्रतियोगिता टियु क्रिकेट मैदानमा होम एण्ड अवेका रुपमा डबल राउन्ड रोबिनको आधारमा हुनेछ। पहिलो वर्ष ६ टोलीमात्र हुनेछन्। प्रतियोगितामा आगमी वर्षदेखि फ्रेन्चाइज टोलीको संख्या पनि बढ्नेछ।
क्यानले रणनीतिक र कर्मसियल अधिकार भारतीय कम्पिनी सेभेन थ्रि स्पोट्र्सलाई ८ वर्षको लागि ३३ करोड रुपैयाँमा बेचि सकेको छ।