पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान जारी छ । देशैभर बिहान ७ बजेबाट मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछन ।
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्न आज मतदान हुँदैछ ।कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा भने आज मतदान हुनेछैन ।
उम्मेदवारको मृत्यु भएका कारण ती ठाउँमा छुट्टै मिति तय गरी निर्वाचन प्रकृया सुरु गरएको छ । ती ठाउँमा केही दिनपछि मात्रै मतदान हुनेछ ।यसपटक मतदान गर्ने योग्य व्यक्ति एक करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष छन् भने ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् ।
देशभरका सबै मतदान केन्द्रमा सुरक्षितरुपमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित साढे दुई लाख सुरक्षाकर्मी खटाइएको छ ।
आयोगका अनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४, मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७०, बागमती प्रदेशमा ३४ लाख १२ हजार ८६९, गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४११, लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४५७, कर्णाली प्रदेशमा १० लाख १ हजार २८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता छन्।