अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाली जनताले भोलि हुने निर्वाचनमार्फत आफूलाई मन परेको उम्मेदवार तथा राजनीतिक दललाई छान्न पाउने संविधान प्रदत्त सार्वभौम अधिकार प्रयोग गर्न अपिल गरेको छ ।
इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले आज जारी गरेको प्रेस विज्ञप्तिमा कुनै डर, धाक धम्की, त्रास र प्रलोभनमा नपरी मतदान गर्न सम्पूर्ण मतदातालाई अपिल गरिएको छ ।
स्थानीय तहको निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आम जनसमुदायमा अनुरोध गर्दै मानव अधिकार, सामाजिक न्याय र विधिको शासनको प्रक्रियाको शुद्धीकरण र सबलीकरणमा स्थानीय तहको निर्वाचनले महत्वपूर्ण भूमिका हुने उल्लेख छ ।
यही वैशाख ३० गते ७५३ स्थानीय तहका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । विसं २०७४ मा तीन चरणमा निर्वाचन भएको थियो । संविधानको भावना र स्थानीय तह निर्वाचन ऐनअनुसार पाँच वर्षको कार्यकाल सकिएकै दिन निर्वाचन गर्ने निर्णय भएको हो ।