भारतका प्रधानमन्त्री नरेन्द्र मोदी गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आउने भएपछि यहाँ तयारी तीव्र पारिएको छ । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर जेठ २ गते उनि लुम्बिनी आउन लागेका हुन् ।
भारतका प्रधानमन्त्री मोदीको भ्रमणको सुरक्षा व्यवस्था मिलाउन बुधबार मात्रै भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) लुम्बिनी आइपुगेको छ। भारतीय वायुसेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो ।
टोली लुम्बिनी पुगेको र नेपाली सुरक्षाकर्मीको समन्वयमा सुरक्षा रणनीति बनाइरहेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।वायुसेनाको विमान सुरक्षाकर्मी र गाडी यहाँ छाडेर दिल्ली फिर्ता भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले जानकारी दिए।
उनका अनुसार कूटनीतिक उडान गर्दै आएको भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ सुरक्षाकर्मी र गाडी लिएर भैरहवा आएको हो ।लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले मोदी आउने विषय तय भइसकेको जानकारी गराउँदै स्वागतका लागि तयारी अवस्थामा रहेको बताए।
कोषका अनुसार लुम्बिनीमा निर्माण गरिएको अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्र एवं सभाहल नजिकै चारवटा हेलिप्याड निर्माण भइरहेका छन् । हेलिप्याड ढलान गरेर पक्की बनाइनेछ । हेलिप्याडसम्म आउजाउका लागि चार मिटर चौडा ढुङ्गा बिछ्याएर बाटो निर्माण भइरहेको छ। यसअघि पनि भारतका प्रधानमन्त्री मोदी लुम्बिनी आउने तय भएर पनि अन्तिममा कार्यक्रम स्थगित भएको थियो। यस पटक बुद्धजयन्ती पारेर आउन लागेपछि स्थानीयवासी र पर्यटन व्यवसायी खुसी भएका छन्।
लुम्बिनी आएपछि मोदीले भारतले निर्माण गर्न लागेको विहारसम्म पुग्ने कार्यक्रम छ। त्यसका लागि विहारसम्म पुग्ने बाटो निर्माणलाई विकास कोषले तीव्रता दिएको छ । भारत सरकारले अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी)मार्फत जर्मन स्तूप उत्तर विहार बनाउन लागेको हो।
उक्त संस्था अहिले भारतीय संस्कृति तथा पर्यटन मन्त्रालय मातहत छ । उक्त विहारको शिलान्यास प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गर्ने कार्यक्रम छ ।