भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीका अवसरमा लुम्बिनी आउने भएका छन्। मोदीको लुम्बिनी दर्शनको तयारी तीव्र रुपमा सुरु भएको छ ।
मोदीलाई लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने कार्यक्रम छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मित्ते)ले प्रधानमन्त्री मोदीले पाँच हजार क्षमताको हलमा जनतालाई सम्बोधन गर्ने बताए ।
उक्त हलमा नेपालमा रहेका सबै देशका राजदूतहरुको सहभागिता रहनेछ । यसका साथै मोदीले करिब डेढ बिघा जमिनमा निर्माण भइरहेको भारतीय मठको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
मायादेवी मन्दिर र अखंड ज्योति दर्शन गर्दी जनतालाई सम्बोधन गरी मोदी कुशीनगर फर्किने कार्यक्रम छ । मोदी चार वर्षपछि नेपाल आउँदै छन् । यसअघि सन् २०१८ मा उनले नेपाल भ्रमण गरेका थिए । प्रधानमन्त्रीको लुम्बिनी आगमनलाई मध्यनजर गर्दै चारवटा हेलिप्याड निर्माणको काम पनि सुरु भएको छ । यससँगै गौतमबुद्ध विमानस्थलमा नेपाली सेनाले तयारी तीव्र पारेको छ ।
प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउने तयारी तीव्र पारिएको छ । नेपाल प्रशासनले सडकमा अवरोध गर्ने व्यक्तिको छानबिन गर्ने तयारी गरेको छ । लुम्बिनी होटलको आगन्तुक दर्ता र शंकास्पद व्यक्तिमाथि सोधपुछ भइरहेको छ । प्रधानमन्त्री मोदीको दर्शन र अन्य कार्यक्रममा करिब दुई घण्टा मन्दिर परिसरमा सर्वसाधारणको प्रवेशमा रोक लगाइने छ ।
लुम्बिनी आएपछि उनी सबैभन्दा पहिले मायादेवी मन्दिरको दर्शन गर्ने छन् । त्यसपछि मन्दिर परिसरमा रहेको अशोक स्तम्भको अगाडि दीप प्रज्वलन गरी भारतले निर्माण गरेको बौद्ध विहारको शिलान्यास गर्नेछन् । त्यसपछि मोदीले त्यहाँ उपस्थित जनतालाई सम्बोधन गर्नेछन्। भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने सम्भावना पनि रहेको छ ।