स्थानीय तह निर्वाचन सुरक्षामा खटिएका चार जना म्यादी प्रहरीको मृत्यु भएको छ । आचरणविपरीत गतिविधि गरेको कसुरमा ४९ म्यादी प्रहरी बर्खास्त भएका छन् ।
७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि वैशाख ३० (आउँदो शुक्रबार)मतदान हुँदैछ । निर्वाचन सुरक्षाकै लागि १ लाख म्यादी भर्ना भएका थिए ।
उनीहरुलाई चैत २८ गतेबाट एक साताको सुरक्षा तालिम दिएर प्रहरी जवानसरह सेवा सुविधासहित सम्बन्धित जिल्ला प्रहरी कार्यालय मातहत रहने गरी ४० दिनको ड्युटीमा खटाइएको थियो ।
प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार निर्वाचन तालिम लिएर ड्युटीमा खटिएकामध्ये ४ जनाको मृत्यु र ४९ जना आचरणविपरीत काम गरेको कसुरमा बर्खास्तमा परेका हुन् ।
सिन्धुपाल्चोक र नुवाकोटमा खटिएका योगेन्द्र न्यौपाने र दुर्गासिं बस्नेतको दुर्घटनामा परी ज्यान गएको छ । बाँकेका जसबहादुर रोका हुम्लामा खटिएका थिए । उनको सुतेकै ठाउँमा मृत्यु भएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए । त्यस्तै सिन्धुपाल्चोककी अनिता भट्टराईले बिष सेवन गरी आत्महत्या गरेकी हुन् ।
निर्वाचन सुरक्षामा ४० दिन कार्यावधि तथा प्रहरी जवानसरह सेवा सुविधासहित १ लाख म्यादी प्रहरी भर्ना भएका थिए । यसैबीच, सरकारले निर्वाचन सुरक्षामा खटिँदा ज्यान गुमाएका म्यादी प्रहरीका परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।