नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आज पोखरा जाँदै छन् । त्यहाँ उनले पाँच दलीय गठबन्धनले गर्ने संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बिहान १० बजे प्रचण्ड पोखरा जाने बताए । हिजो प्रचण्डले मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिका र सांस्कृतिक नगरी मिथिला नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए ।
त्यहाँ उनले मधेसी जनताले डेढ दशकदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी समस्या समाधानका लागि पहल गर्ने पनि बताएका थिए ।संविधान संशोधन गरेर मधेसी जनताका जायज मागहरूलाई सम्बोधन गर्ने तर स्थानीय तह निर्वाचनमा मत भने पाँच दलीय गठबन्धनका उम्मेदवारलाई दिएर विजयी गराउन प्रचण्डले आह्वान गरेका थिए ।
प्रचण्ड गठबन्धन दलका उम्मेदवारहरूलाई विजयी गराउन भन्दै देशका ठाउँठाउँमा गठबन्धन दलहरूले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्न पुग्ने गरेका छन् ।