स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र ढुवनी कार्य सम्पन्न भएको छ।
निर्वाचन आयोगका विभिन्न प्रदेश र जिल्ला निर्वाचन कार्यलय तथा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले तयारीलाई तीव्रता दिएका छन्।
आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख १३ गतेदेखि विभिन्न जिल्लाका लागि ट्रकमा लोड गराइ सुरक्षा प्रबन्धका साथ मतपत्र पठाएको हो। सडकमार्ग सहज नहुने जिल्लामा हवाइ मार्गबाट ढुवानी गरिएको थियो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका सम्बन्धित पालिकाका लागि प्याकिङ गराई चाँडै स्थानीयरूपमा मतपत्र ढुवानी गराउने आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिए।
उम्मेदवारी मनोनयनपत्र दर्ताको विवरण र निर्वाचन चिह्न प्रदानका आधारमा थप छपाइ गर्नुपर्नेसहित कूल दुई करोड सात लाख ४६ हजार मतपत्र छपाइ भएको थियो। आयोगले वैशाख १२ गतेसम्ममै आवश्यक निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको थियो।
आयोगका विभिन्न प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आयोगले निर्धारण गरेको विषयवस्तुका आधारमा तालिम दिएका छन्।
कतिपय जिल्लामा तालिम जारी रहेको छ भने कतिपय जिल्लामा तालिम सम्पन्न भएको छ। कार्यालयले आयोगबाट प्राप्त भएका निर्वाचन सामग्री र मतपत्रलाई व्यवस्थापन गर्दै प्याकिङ र वितरणको तयारी गरेका छन्।