नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ । बुढीनन्दा नगरपालिका–९, पाण्डुसेनमा भएको झडपमा प्रहरीसहित २० जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये १६ जना प्रहरी हुन्।
काँग्रेस कार्यकर्ताले चौकी आक्रमण गर्न खोज्दा १६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन् । नेकपा समाजवादी र नेपाली काँग्रेससका दुई/दुई जना कार्यकर्ता घाइते भएका प्रहरीले जनाएको छ ।
स्थिति नियन्त्रणमा लिनका लागि १४ राउन्ड हवाइ फायरसमेत गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी चर्तुभुज ओझाले बताए । दिउँसो नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादीका कार्यक्रताबीच झडप भएको थियो । झडपपछि सामाजवादीका कार्यकर्ता प्रहरी चौकीमा संरक्षण लिन पुगेका थिए ।
सामाजवादीका कार्यकर्ता चौकीभित्र रहेको भन्दै काँग्रेस कार्यकर्ताले प्रहरी चौकीमाथिनै आक्रमण गरेको प्रहरी निरीक्षक बोगटीले बताए । समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको भन्दै काँग्रेसका कार्यकर्ताहरुले ढुगांमुढा गरेपछि झडप भएको थियो ।झडपपछि समाजवादीका कार्यकर्ताहरु प्रहरी चौकीमा पुगेका थिए । उनीहरुलाई प्रहरीले संरक्षण गरेको भन्दै काँग्रेसका कार्यकर्ताहरुले प्रहरी चौकी तोडफोड गरेका बताइएको छ ।
स्थिति नियन्त्रणबाहिर गएपछि जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको टोली घटना स्थलतिर गएको छ । दिनभरि तनावग्रस्त बन्दै गएको पाण्डुसैनमा थप सुरक्षासहित प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेल सहित सुरक्षा निकायका प्रमुखसहित घटना स्थलतिर गएको प्रहरीले जनाएको छ । १६ राउण्ड हावाई फायर चलाउँदासमेत स्थिति नियन्त्रण हुन नसक्दा सुरक्षा निकायका प्रमुखसहितको टोली घटना स्थलतिर गएको प्रहरीको भनाइ रहेको छ ।
विवादका क्रममा नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला सचिव पुरबहादुर रावतलाई नेपाली काँग्रेकाका कार्यकर्ताले चक्कु प्रहार गरेका छन् । दुई दलका कार्यकर्ताबीच भएको झडपमा चक्कु प्रहार हुँदा रावत घाइते भएका प्रहरीले जनाएको छ ।