नेपाल कम्युनिष्ट पार्टी (एमाले)का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले आगामी स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउने अभियानमा जुट्न निर्देशन दिएका छन् ।
एमाले रौतहट जिल्ला कमिटीको आज गरुडामा भएको बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य साहले स्थानीय तहको निर्वाचन मार्फत पहिलो पार्टी बनाउने अभियानमा जुट्न निर्देशन दिएका हुन् ।
‘एमालेले आसन्न स्थानीय तहको निर्वाचन मार्फत पहिलो पार्टी बन्दै आफ्नो श्रेष्ठता हासिल गर्नुपर्ने मूल अभिभारलाई सबै जिम्मेवार कमरेडहरू एकताबद्ध भएर कर्तव्यवोधका साथ अगाडि बढ्नुपर्ने आवश्यक छ’ साहले भने ।
रौतहट जिल्ला सहित मधेस प्रदेश एवं देशकै पहिलो र ठुलो पार्टी एमाले हुने विश्वास व्यक्त गर्दै उनले सोही अनुसार जनताका बिचमा जानुपर्ने आवश्यक रहेको बताए । विभिन्न पार्टीका साथै जननिर्वाचित प्रतिनिधिहरू एमालेमा प्रवेश गर्ने लहर चलेको बताउँदै उनले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमार्फत देशकै ठुलो पार्टी एमाले बन्ने निश्चित रहेको दाबी गरेका छन् ।
जिल्ला कमिटीको बैठकमा मनोनीत सदस्यहरूले सपथ ग्रहण गर्नुका साथै कार्य विभाजन एवं आगामी चुनावी विशेष कार्य योजना सहित सम्पन्न भएको जिल्ला अध्यक्ष त्रिभुवन साहले बताए । रौतहटको हरेक पालिका एवं वडा स्तरमा एमाले जोडतोडका साथ चुनावी अभियानमा जुटिसकेको जिल्ला अध्यक्ष साहले बताए ।