पर्सा राष्ट्रिय निकुञ्जमा आइतबारदेखि गौरीगाई गणना सुरु गरिएको छ । ६ वर्षको अन्तरालमा निकुञ्जले गणना थालेको हो । यसअघि २०७३ सालमा गणना भएको थियो । गत वर्ष कोरोना महामारीको कारण नियमित गणना हुन सकेन ।
निकुञ्जका सूचना एवं सहायक संरक्षण अधिकृत सन्तोष भगतका अनुसार, वैशाख १ देखि ७ सम्म वन्यजन्तु सप्ताह मनाइँदै गरेको सन्दर्भमा यसपटक गौरीगाई गणना पनि गर्न लागिएको हो ।
निकुञ्जकर्मी, नेपाली सेना, हात्तिसारका कर्मचारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकसमेत गणनामा खटिएका छन् । गणकहरूलाई यसअघि निकुञ्जमा २ दिने अभिमुखीकरण तालिम दिइएका थियो । गणनाका लागि कुल १ सय २० जनाको टोली एकैसाथ परिचालन गरिएको छ ।