सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज बस्दै छ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
बैठकमा स्थानीय तह निर्वाचनमा गठबन्धनका बीच भागबन्डाका विषयमा छलफल हुनेछ । विशेष गरी महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डामा सकस देखिएको छ ।
आइतबार गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा भागबन्डा टुंग्याई शीर्ष नेतृत्वलाई रिपोर्ट बुझाउने तयारी थियो ।तर, दलहरू आ-आफ्नै अडानमा रहँदा बैठक निष्कर्षविहीन बन्यो । यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ ।
हालसम्म नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उपमहानगरको उम्मेदवारका लागि आआफ्नै अडान कायम राखेका छन् ।
नेकपा माओवादी केन्द्रले भरतपुर महानगरसहित ४ उपमहानगर, नेकपा एकीकृत समाजवादीले पोखरा महानगरसहित तीन उपमहानगर र जनता समाजवादी पार्टीले वीरगन्ज महानगरसहित तीन उपमहानगरपालिकामा दाबी गरेको समाचार बाहिरिएका छन्। आइतबार बसेको बैठकमा दलका नेताहरुले आ-आफ्नो दाबी प्रस्तुत गरेका थिए ।