तराई भू–भागमा तापक्रम बढ्ने क्रममा रहेकाले सतर्क हुन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले गर्मीका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।
तराईका जिल्लामा आगामी तीन दिन अत्यधिक गर्मी भई (हिट वेब) तातो हावा चल्ने पूर्वानुमान गरिएको छ। वैशाख ५, ६ र ७ गते तराईमा लूको सम्भावना देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेखअनुसार देशका ७ स्थानमा वैशाख शुरु नहुँदै ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ। जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले नेपालमा हिट वेब ‘लू’ शुरु भइसकेकोले सबै नागरिकहरुले सचेत रहन आवश्यक रहेको बताए।
हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।अहिले देशको पहाडी भू–भागमा आंशिक बदली छ । अरू भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।
राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।