पर्सामा नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) का जिल्ला सभापति र अध्यक्षले एक्ला–एक्लै निर्वाचनमा लड्ने लिखित निर्णय गरेका छन् ।
उनीहरुले कुनै पनि पालिकामा कांग्रेस र जसपाबीच गठबन्धन नगरी प्रतिस्पर्धा गरेर नै निर्वाचनमा जाने लिखित निर्णय गरेका हुन् ।
अलग–अलग प्रतिष्पर्धा गर्ने काँग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्री र जसपाका पर्सा अध्यक्ष रामनरेश यादवबीच शनिबार लिखित निर्णय भएपछि भने अब पर्सामा एमाले, काँग्रेस र जसपाका बीच त्रिपक्षीय कडा प्रतिष्पर्धा हुने संकेत देखिएको छ । त्यसमा पनि मधेश प्रदेशको एक मात्र महानगर वीरगन्जको लडाई निकै रोमाञ्चक हुने छ ।
पर्साका १४ पालिकामध्ये १४ वटामा नै काँग्रेसको नेतृत्व जनताले चाहेको र नेपाली काँग्रेसका स्थानीय कार्यकर्ताको भावना र जनताको चाहना अनुसार गठबन्धन नगरी अगाडी बढ्ने निर्णय गरिएको उनले बताए ।
उता जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव पनि स्थानीय तहको निर्वाचनमा स्थानीय नेता कार्यकर्ताको भावना विपरित अगाडी बढ्न कठिन हुने भएपछि मित्रवत प्रतिष्पर्धाको बाटो रोजेको बताउँछन् ।