नेपाली कांग्रेस विराटनगर महानगर समितिले मेयरका लागि ७ जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ।
महानगर समितिका सभापति दीपक चापागाईले शनिबार काठमाडौँस्थित केन्द्रीय कार्यालयका सचिव प्रेम केसीलाई सिफारिस र सल्लाह सुझावसहितको पत्र बुझाएको जानकारी दिए।
महानगर समितिका सभापति चापागाईंले विराटनगर महानगरमा दलीय तालमेलको आवश्यकता नरहेको सुझाव केन्द्रलाई दिएको बताए।
महानगरमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्ने जनाउँदै समितिले मेयरका लागि केन्द्रीय सदस्य एवं वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्वय अमृत अर्याल र डिला संग्रौला, जिल्ला उपसभापति नागेश कोइराला, महानगर सभापति दीपक चापागाई, प्रदेश समिति सदस्य गोपाल रेग्मी, उपमेयर इन्दिरा कार्कीको नाम सिफारिस गरेको छ।
त्यसैगरी, उपमेयरमा समितिले १२ जनाको नाम सिफारिस गरेको छ। जसमा नीरज कोइराला, झुमा निरौला गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, सूची चौधरी, पंकज वर्मा, दुर्गा कोइराला, डा। सीता घिमिरे, गीता सिलवाल र राजु मास्केको नाम समितिले सिफारिस गरेको हो।
महानगरले विराटनगरमा गठबन्धन आवश्यक नरहेको निर्णय गरिसकेको बताएका चापागाईले कांग्रेसले महानगरमा कुनै दलसँग तालमेल गर्न नहुने उल्लेख गरे।
यसअघिको स्थानीय तह निर्वाचनमा कांग्रेसका भीम पराजुली विराटनगरको मेयरमा विजयी भएका थिए। सो समय एमाले र तत्कालीन फोरम लोकतान्त्रिक तथा माओवादी र तत्कालीन संघीय समाजवादी फोरमबीच चुनावी तालमेल भएको थियो।
कांग्रेस एक्लै निर्वाचनमा उभिँदा मेयर पराजुलीले २३ हजार ३१ मत ल्याउँदै विजयी भएका थिए। उनका प्रतिस्पर्धी एमाले–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एमाले नेता विनोद ढकालले १७ हजार ३ सय २१ मत ल्याएर दोस्रो स्थानमा थिए।
माओवादी र संघीय समाजवादीका तर्फका मेयरका उम्मेदवार समाजवादीका नेता उमेश यादवले १४ हजार ९ सय ५८ मत ल्याएर तेस्रो स्थानमा थिए।