जिल्ला प्रहरी कार्यालय कैलालीले नौ महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौँमा काजमा सरुवा भएपछि आज बुधवार नौ महिनाको प्रगति विवरण सार्वजनिक गरिएको हो ।
चालु आर्थिक वर्ष २०७८/०७९ को नौ महिनामा यस जिल्लामा जम्मा १०९२ मुद्दा दर्ता भएका छन् भने गत आर्थिक वर्ष नौ महिनामा मुद्दा दर्ता भएका सङ्ख्या १०२४ को तुलनामा यो सङ्ख्या ६.६३ प्रतिशतले बढेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै सोही अवधिमा लागुऔषध शीर्षकमा १११ वटा मुद्दा दर्ता भई नौ जना महिला, १६१ जना पुरुष गरी जम्मा १७० जना पक्राउ गरी अनुसन्धान गरिएको कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
गत आर्थिक वर्षको नौ महिनामा सोही शीर्षकमा ७६ वटा मुद्दा दर्ता भई ४ जना महिला, ९७ जना पुरुष गरी जम्मा १०१ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो जुन यो सङ्ख्या ४६.०५ प्रतिशतले बढेको कार्यालयको तथ्याङ्कले देखाएको हो ।
साथै उमेर समूहको तुलना गर्दा १५९२५ वर्ष उमेर समूहका व्यक्तिहरूको बढी रहेको देखिएको छ । यस अवधिमा २४८ ग्राम ७८१ मिलि ग्राम खैरो हेरोइन, ७८३ ट्याब्लेट नाईट्राभेट, ७४१ क्याप्सुल स्पास्मो , ४१ किलो ५७ ग्राम ७९७ मिलिग्राम चरेश, ८० क्याप्सुल नाईट्राजपाम,२३ थान प्रोयल स्पान , २८.०२ ग्राम गाँजा र ८ थान ट्रामडोल बरामद गरिएको छ।
चालु आर्थिक वर्षको नौ महिनामै अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरू ६६ जना र अनुसन्धानको क्रममा फरार रहेका २५ जना गरी जम्मा ९१ जना फरार प्रतिवादीहरू पक्राउ गरेको छ, भने गत आर्थिक वर्षको नौ महिनामा अदालतबाट फैसला भई फरार रहेका प्रतिवादीहरू ४८ जना र अनुसन्धानको क्रममा फरार रहेका २२ जना गरी जम्मा ७० जना फरार प्रतिवादीहरू पक्राउ गरेको थियो ।
यस्तै भन्सार छली, चोरी निकासी तथा पैठारी नियन्त्रण अन्तर्गत एक करोड बीस लाख पचहत्तर हजार आठ सय असी राजश्व सङ्कलन गरिनुका साथै १२ जनालाई पक्राउ र १० वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गत आर्थिक वर्षमा सोही अवधिमा ९७ लाख ५६ हजार ८ सय ९८ राजश्व सङ्कलन गरिनुका साथै ८ जनालाई पक्राउ र १७ वटा सवारी साधन नियन्त्रण गरिएको थियो । जुन गत वर्षको तुलनामा यस आर्थिक वर्षमा २३.७६ प्रतिशतले राजश्व बढेको देखिएको छ । कर्तव्य ज्यान सम्बन्धी मुद्दामा १४ वटा मुद्दा दर्ता गरिएका छन् भने गत आर्थिक वर्षको नौ महिनामा १२ ओटा मुद्दा दर्ता गरिएका छन् । यस अवधिमा अपराधमा संलग्न ७२ जना महिला र १०९१ जना पुरुष गरी जम्मा ११६३ जनालाई पक्राउ गरी अनुसन्धान गरिएको जनाएको छ ।
यस्तै समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत 'हाम्रा प्रहरी सँग हामी' कार्यक्रम तथा हाम्रा सन्ततिको भविष्य बचाउ अभियान अन्तर्गत विभिन्न विद्यालय तथा अन्य स्थानहरूमा जम्मा ४४० वटा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।