प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइने ‘रामनवमी’ पर्व आज देशभर विधिपूर्वक मनाइएको छ ।
असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामले त्रेता युगमा आदर्श राजाका रुपमा पु¥याउनुभएको योगदानको सम्झनामा रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा देशभर रहेका भगवान् श्रीरामचन्द्रका मन्दिरमा पूजापाठ गरिएको छ।
जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ । प्राचीनकालदेखि नै विवाह पञ्चमी र रामनवमीका दिन जनकपुरमा नेपाल र भारतका धार्मिक पर्यटकको भीड लाग्ने गर्छ ।
त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा भगवान् विष्णुको अवतार लिएर श्रीरामको जन्म भएको थियो । पुत्र नहुँदा दुःखी रहेका राजा दशरथले ऋषि वसिष्ठको सल्लाहमा पुत्रेष्टि यज्ञ गरेपछि तीन रानीबाट चार पुत्रको जन्म भएको रामायणलगायत विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
जनताको भावनाअनुसार शासन गर्ने विष्णुको अवतारका रुपमा मनुष्य लोकमा जन्म लिई आदर्श शासन गर्नुभएका राजा रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने एवं पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।
आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने विषय ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।