राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेसँग स्थानीय निर्वाचनमा तालमेल हुनसक्ने बताएका छन् । राप्रपा नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले सूर्य चिह्नलाई साझा बनाउने विषयमा छलफल भइरहेको बताए ।
एक साताभित्रै एमालेका शीर्ष नेतासँग बैठक बसेर तालमेलको टुंगो लगाउने उनले सुनाए । सूर्य चिह्नलाई साझा बनाएर निर्वाचनमा जाने विषयमा पार्टीका केही केन्द्रीय नेताले फरक मत राखेका छन् ।
केन्द्रीय सदस्य भूपेन्द्रप्रसाद पोख्रेलले चुनावमा एमालेसँगको सहकार्य र साझा चिह्न सूर्य लिन सकिने भए पनि पार्टी स्थापना गर्न ‘तीर’ नै लिनुपर्ने बताए । डेढ महिनाअघि गठन भएको राप्रपा नेपालले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र र चुनाव चिह्न ‘तीर’ पनि सार्वजनिक गरेको छ ।