बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । खप्तड छान्ना गाउँपालिका १ पौवागढि की ४१ वर्षिया मालती देवी खातीको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
बिहीबार बिहान खाजा खाएर घाँस काट्न निस्किएकी खाती दिउँसो करिब १२ बजे भिरबाट करिब २०० मिटर तल खसेर घटना स्थलमै मृत्यु भएको आफन्त सुरेन्द्र खातीले जानकारी दिए ।
घटनाबारे बझाङ प्रहरी भने बेखबर रहेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञान बहादुर बिष्टले घटना बारे आफन्त तथा गाउँले कसैले पनि जानकारी नगराएको बताए ।
यता मृतका आफन्त सुरेन्द्र खातीले भने पोष्टमार्टम गर्न झन्झटिलो हुने भएकोले प्रहरीलाई जानकारी नगराएको बताए । उनले मृतकको शव अहिले घरमै राखिएको र भोलि मात्रै दाहसंस्कार गरिने बताए ।
खाती पौवागढी स्थित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थामा प्रमुख पदमा कार्यरत रहेकी थिइन्।