प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा बहस गरेका कानुन व्यवसायी गोविन्द प्रसाद शर्मा (गोविन्द बन्दी) लाई मन्त्री बनाएका छन् ।
सांसद समेत नरहेका शर्मालाई ओली बिरुद्ध बहस गरेकै कारण आफु सत्तामा आसिन भएपछी उपहार स्वरुप मन्त्री बनाएका हुन् ।
प्रधानमन्त्री देउवाको सिफारिसमा आज (बिहीबार) राष्ट्रपति बिधादेवी भण्डारीले शर्मालाई सरकारको कानुन न्याय तथा संसदिय मामिला मन्त्रीमा नियुक्त गरेकी छिन् ।
राष्ट्रपति कार्यालयका अनुसार मन्त्री बन्दीको शपथ बिहीबार दिउँसो नै गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दोश्रो पटक गैरसांसद बन्दीलाई मन्त्री बनाएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गर्दा शर्माले विपक्षमा बहस गरेका थिए । दोस्रो पटक २०७८ जेठ ८ गते भएको प्रतिनिधिसभा विघटनमा भने बन्दीले रिट निवेदन लेख्नेदेखि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
शर्माले एमसीसी पारित गर्न पनि महत्वपूर्ण भूमिका खेलेका थिए । एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनमा विवाद भई सरकार ढल्ने अवस्थामा आइपुगेपछि शर्मालगायतको भूमिकामा १२ बुँदे व्याख्यात्मक घोषणा तयार पारिएको थियो । अन्तर्राष्ट्रिय कानुनका ज्ञाताका रूपमा परिचय बनाएका शर्माले सत्तारुढ गठबन्धनलाई कानुनी सहयोग गर्दै आएका थिए ।
प्रतिनिधिसभा पुनःस्थापना भई शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएपछि एमाले विभाजन भएको थिए । शर्मा एमाले विभाजनपछि गठन भएको नेकपा (एकीकृत समाजवादी) निकट लागेका थिए ।
सरकारमा कानुन न्याय तथा संसदिय मामिला मन्त्री रहेका दिलेन्द्र प्रसाद बडुलाई प्रधानमन्त्री देउवाले सम्लाल्दै आएका उधोग, वाणिज्य तथा आपुर्ती मन्त्रालयमा पठाएर शर्मालाई उनको स्थानमा ल्याएका हुन् ।