त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ ।
११५ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको नेपालले १३.४ ओभरमा ४ विकेट गुमाएर ११७ रन बनायो ।
नेपालको जितमा आशिफ शेखले ५५, दिपेन्द्रसिंह ऐरीले २१, दिलिप नाथले नटआउट १५, रोहितकुमार पौडेलले १२ र कुशल मल्लले नटआउट २ रन बनाए । मलेसियाविरुद्धको टी–२० सिरिजमा नेपालका बायाँ हाते ब्याटर नाथले डेब्यु गरेका थिए ।
त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो ।
मलेसियाका जुबैदी जुल्किफ्लेले ३२, अहमद फेइज २४, सेइद अजिज १४ र मुहम्मद अमिरले १६ बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मलेसियालाई सस्तैमा समेट्न बलिङमा करण केसी र सन्दिप लामिछानेले दुई दुई विकेट लिए भने अभिनाश बोहरा, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए ।
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले पीएजनीलाई १५ रनले हराएको थियो ।