पपुवा न्यूगिनी (पीएनजी) विरुद्धको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको छ ।
युवा ब्याटर रोहितकुमार पौडेलको कीर्तिमानी शतकका बाबजुत नेपाल पीएनजीसँग पराजित भएको हो ।
२९३ रनको लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा २८६ रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि रोहितकुमार पौडेलले १०७ बलमा १२६ रन बनाए । त्यस्तै, आरिफ शेखले ३४, कुशल भुर्तेलले ३२, कमलसिंह ऐरी र सोमपाल कामीले १८–१८, भीम सार्कीले १७ र दिपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्यटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनाएको थियो ।
पीएनजीका दुई खेलाडीले अर्धशतक पुरा गरे । उसका लागि चाल्र्स अमिनीले ७७, असाद भालाले ६०, रिले हेकुरेले नर्मन भानुआले ४७ र टोनी उराले ३८ रन बनाए ।
नेपालका लागि कमलसिंह ऐरी, सोमपाल कामी र दिपेन्दसिंह ऐरीले २–२ तथा कप्तान सन्दीप लामिछाने र पवन सरार्फले १–१ विकेट लिए ।
आज नेपाली मुख्य बलरहरु महंगो सावित भए । सोमपालले ९ ओभरमा ८१, सन्दीपले १० ओभरमा ६२, कमलले ९ ओभरमा ५६ रन दिए ।
दिपेन्द्रले १० ओभरमा ३२ रन मात्रै दिए । त्यस्तै, पवन सरार्फले ५ ओभरमा २५, आरिफ शेखले ६ ओभरमा २३ रन दिए ।
रोहितको रेकर्ड नै रेकर्ड
आजको खेलमा रोहित पौडेलले तीन वटा कीर्तिमान बनाएका छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रनको साझेदारी, एकै पारीमा सर्वाधिक रन र एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालकै लागि सर्वाधिक रनको कीर्तिमान बनाएका हुन् ।
आजको खेलमा पाँचौँ विकेटका लागि आरिफ र रोहितले एक सय चार रनको शतकीय साझेदारी गरे । यो एकदिवसीयमा नेपालको कुनै पनि विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी हो ।
यस्तै आज नै रोहित पाँच सय रन पूरा गर्ने पहिलो नेपाली ब्याटर र एकै पारीमा नेपालबाट सर्वाधिक एक सय २६ रन बनाए ।
यसअघि यूएईमा नेपालले पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा जित निकालेको थियो । पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो ।
नेपालले भोलि पनि पीएनजीसँग एकदिवसीय खेल खेल्नेछ । एकदिवसीय सिरिज लगत्तै नेपालले पीएनजी र मलेसियासँग त्रिदेशीय टी ट्वान्टी प्रतियोगिता खेल्नेछ ।