राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा पारस पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भएका हुन् ।
खड्काले पछिल्लो एक दशकमा आफ्नो कप्तानीमा नेपाली क्रिकेटलाई निकै उचाइमा पु¥याएका थिए । उनकै कप्तानीमा नेपालले सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप क्रिकेट खेलेको थियो ।
त्यस्तै सन् २०१८ मा खड्काले नेपाललाई ऐतिहासिक एकदिवसीय मान्यता दिलाएका थिए । खड्काले गत वर्ष मात्र नेपाली टोलीबाट सन्यास लिएका थिए । कोरोना भाइरस ९कोभिड–१९० को महामारीका कारण निर्धारित समयभन्दा केही ढिला आयोजना भएको अवार्डलाई मञ्चले यसपटक ‘दशक अवार्ड’ को रूपमा आयोजना गरेको हो ।
वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक यी तीन विधामा दशककै उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गरिएको हो । दशककै उत्कृष्ट खेलाडी बनेका पारसले बजाज पल्सर मोटरबाइक प्राप्त गरेका छन् ।