तराई–मधेशमा जनता समाजवादी पार्टी (जसपा) छोड्ने क्रम बढ्दै गएको बेला गण्डकी प्रदेशमा समेत नेताहरु सामुहिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आज एमाले गण्डकी प्रदेश कमिटीद्वारा पोखरामा आयोजित एक कार्यक्रममा जसपाका ९ केन्द्रीय सदस्य, १३ जना प्रदेश कमिटी सदस्य र १२ जना कास्की जिल्ला कमिटी सदस्यहरु एकैपटक पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलिले जसपा केन्द्रीय सदस्य देवी सुवेदी र संविधानसभा सदस्य डिबी नेपालीसहित चार सय नेता–कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराएका हुन् ।
एमाले प्रचार विभाग प्रमुख विष्णु रिजालका अनुसार पार्टी प्रवेश गर्नेहरुमा जसपाका विभिन्न भातृ संगठनहरुमा रहेका नेता समेत सहभागि छन् ।