काठमाडौँ, ७ फागुन - कांग्रेस सभापति शेरबहादुर देउवा बेलाबखत आफ्नैबारे बोल्दा भन्ने गर्छन्, ‘गिरिजाप्रसाद कोइरालाजस्तो निर्णय गर्न सक्ने, गणेशमान सिंहजस्तो समावेशी चरित्र लिने र कृष्णप्रसाद भट्टराईजस्तो न्याय गर्न सक्ने क्षमता मसँग छ।’
तीन वर्षको पार्टी सञ्चालन अनुभवले भने उनको भनाइ र गराइमा धेरै अन्तर देखाएको छ । २०७२ फागुन २४ मा पार्टीको कमान्ड सम्हालेका देउवाले अहिलेसम्म केन्द्रीय विभाग गठन गर्न सकेका छैनन् । केन्द्रीय कार्यसम्पादन, अनुशासन, संसदीय समिति ९निर्वाचनपछि विघटन भएको निर्वाचन समिति रिक्त छन् । भ्रातृसंस्थाहरू तदर्थवादमा चल्दै छन् ।
नेपाल विद्यार्थी संघकाे महाधिवेशन गराउन नसकेपछि विघटित अवस्थामा छ । १३ भ्रातृसंस्थामा दलित संघ, किसान संघ, प्रजातान्त्रिक सेनानी संघ, आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, तामाङ संघ र नेपाल ठाकुर समाजको अवधि सकिएको छ । किसान संघको स्थापनाकालदेखि नै अधिवेशन हुन सकेको छैन ।
तीन वर्षको अवधिमा देउवाले चौथोपटक प्रधानमन्त्रीको रेकर्ड राख्ने सौभाग्य भने पाए । निर्वाचन सम्पन्न गर्नेबाहेक उनको कार्यकालमा सकारात्मक सन्देश दिने काम केही भएन । बरु कतिपय विवादास्पद निर्णयका कारण पार्टीभित्रै उनी आलोचित भए । निर्वाचनमा उनकै नेतृत्वमा पार्टी पराजित भयो । साइज खुम्चियो । पार्टीको संस्थापनइतर खेमाले निर्वाचनमा हार्नुमा मुख्य कारण देउवालाई नै ठहर्यायो । पार्टी र सरकार सञ्चालनका कमीकमजोरीले निर्वाचन हारेको मान्न देउवा तयार भएनन् । उनले निर्वाचन हारको नैतिक जिम्मेवारीसमेत लिएनन् ।
‘पार्टी पुरानै ढर्राबाट चलेको मात्रै होइन, त्योभन्दा पनि बिग्रेको छ,’ कांग्रेस नेता रामशरण महत भन्छन्, ‘देउवामा आफू बलियो बन्न कसरी गुट सशक्त बनाउने भन्ने मात्रै देखियो । पार्टीलाई नयाँ कार्यशैलीका साथ अघि बढाउने प्रयत्न देखिएन ।’
तत्कालीन पार्टी सभापति सुशील कोइरालाले विभाग र समितिलाई समयमै पूर्णता दिन नसक्दा देउवाले निर्णय क्षमता नभएको नेताको चित्रण गरेका थिए । अहिले उनीमाथि त्यस्तै चित्रण हुने गरेको छ । दुई महिनामा गर्नुपर्ने पदाधिकारी मनोनयन उनले गत वैशाखमा मात्रै गरे । विभागहरू तीन वर्षसम्म रिक्त छन् ।
संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समिति विधानविपरीत गठन हुँदा विवादमा परे । ती समिति खारेज भएको आठ महिना बित्न लागिसक्यो, पुनर्गठन भएको छैन । संविधान जारी भएको तीन वर्षभन्दा बढी भइसक्दा पनि पार्टीको प्रदेश संरचना बन्न सकेका छैनन् । ६ महिनादेखि कांग्रेस विधानमै अल्झेको छ । डेढ महिनाअघि महासमितिबाट पारित भएको विधान अहिलेसम्म जारी भएको छैन ।
नेता महत नेतृत्वको काम गर्ने तौरतरिकाकै कारण पार्टी अस्तव्यस्त भएको ठान्छन् । ‘पार्टीका पदाधिकारी, सदस्य, विभाग र समितिलाई समयमै पूर्णता दिन नसक्नुका पछि नेतृत्वको व्यवस्थापकीय क्षमताको कमजोरी मुख्य कारण हो,’ उनी थप्छन्, ‘यसलाई चुस्त बनाउनुको साटो पार्टी नेतृत्वमा हिजो जसरी चलेको छ, अहिले पनि त्यसरी नै चलिहाल्छ भन्ने मानसिकता देखियो । चुनौती सामना गर्ने नीति र कार्यक्रम लिएर जानेतिर नेतृत्वको ध्यान देखिन्न ।’
संस्थापनपक्षीय नेता एनपी सावदले पार्टीभित्र धेरै नेता पुरानै मानिसकतामा रहेका कारण कतिपय निर्णयमा ढिलाइ हुने गरेको बताए । ‘हिजो पनि गणेशमान, किसनुजी र गिरिजाबाबु मिल्नुपर्छ भन्ने थियो । अहिले पनि दुई जना ९देउवा र पौडेल० मिल्नुपर्छ भन्ने छ । यसले प्रक्रियामा जाने अभ्यासलाई रोकेको छ,’ उनले थपे, ‘प्रजातान्त्रिक पार्टीमा सहमति नभए प्रक्रियामा निर्णय लिने विषयलाई अन्यथा लिइनु हुन्न ।’ पार्टीभित्रका सबै पक्ष र समूहको सहमति खोज्दा कतिपय निर्णयमा ढिलाइ भएको सावदले बताए । ‘अब त्यस्तो हुँदैन, फागुन ९ गते हुने बैठकमा विधान पारित हुन्छ, अनुशासन समिति बन्छ,’ उनले भने, ‘त्यसपछि विभाग र अन्य समिति बनाउने तयारी छ ।’
अर्का नेता नवीन्द्रराज जोशी पार्टी संरचनाले तीन वर्षसम्म पूर्णता नपाउनुलाई दुर्भाग्य ठान्छन् । ‘पार्टी सञ्चालनसमेत विधान र विधिविपरीत चल्न थाल्यो ।’ निर्वाचन परिणामपछि धेरैलाई पार्टी नयाँ ढंगले चल्छ कि भन्ने आशा थियो । हुन नसक्दा अब सुध्रिएला भन्ने अपेक्षा पनि नरहेको जोशी बताउँछन् । ‘निर्वाचनमा हार्दा पनि नेतृत्वले चेतेको पाइएन,’ उनले भने, ‘अब त हुन्छ कि भन्यो तर सुधार हुने लक्षण छैन । कार्यकर्तालाई आकर्षित गर्ने र आमयुवालाई कांग्रेसतिर तान्ने नीति, कार्यक्रम र रणनीति नेतृत्वमा देखिन्न ।’
देउवा नेतृत्वमा आएपछि पार्टीभित्र झनै गुटबन्दी बढेको छ । सबै गुटलाई मिलाएर पार्टी हाँक्ने चुनौती उनलाई छ । पार्टीभित्र आफैंले सुरु गरेको ६०र४० को भागबन्डा अहिले पनि कायम छ । पार्टीमा संस्थापन पक्षका अतिरिक्त वरिष्ठ नेता रामचन्द्र पौडैल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको मुख्य गुट छ । मुख्य गुटभित्र विभिन्न उपगुट छन् । देउवाको काम गर्ने शैलीबाट यतिबेला संस्थापनइतर कुनै पनि गुट सन्तुष्ट छैनन् । स्वयं आफ्नै विश्वासपात्रसमेत असन्तुष्ट बन्न थालेका छन् । समयमा जिम्मेवारी नदिँदा र नेतृत्वको कार्यशैली परिवर्तन नहुँदा उनीहरू असन्तुष्ट बनेका हुन् ।
महत पार्टीभित्रको गुटबन्दी अन्त्य नै अहिलेको मुख्य चुनौती रहेको बताउँछन । ‘आवश्यकताका आधारमा जिम्मेवारी बाँडफाँट गर्ने, योग्यता र सान्दर्भिकता भएकालाई अवसर दिने हो भने गुटबन्दी अन्त्य हुन्छ,’ उनले भने, ‘तर आफ्ना मान्छे च्याप्ने प्रवृत्ति मात्रै बढेकाले समस्या आएको हो ।’
पार्टीभित्रका विभिन्न गुट र उपगुट मिलाएर पार्टी हाँक्न कठिनाइ परेको अनुभूति स्वयं देउवालाई पनि भएको छ । उनले केही समयअघि नेविसंघको कार्यक्रममा भनेका थिए, ‘पार्टी सभापति बन्न सजिलो रहेछ तर काम गर्न गाह्रो हुँदोरहेछ । रामचन्द्रजीलाई फकाउँदा फकाउँदै मेरो यो हालत भइसक्यो ।’ यो समाचार कान्तिपुर दैनिकले छापेको छ।