नेपाली महिला टोलीको आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना अधुरो बनेको छ ।
आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको जित्नैपर्ने अन्तिम खेलमा यूएईसँग ४८ रनले पराजित भएपछि नेपालको विश्वकप यात्रा सकिएको हो ।
दुबईस्थित आईसीसी एकेडेमी मैदानमा आइतबार भएको अन्तिम खेलमा यूएईले दिएको एक सय २८ रनको विजय लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा सबै विकेटको क्षतिमा ७९ रनमा समेटिएको थियो ।
नेपालका लागि इन्दु बर्माले १५ रन बनाइन् । सीता रानामगरले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
नेपाललाई सस्तैमा समेट्न समैरा धारनीधारकाले सर्वाधिक चार विकेट लिइन् । खुशी शर्मा र चामानी सेनेभिरत्नाले समान दुई दुई विकेट लिइन् । चाया मुगलले एक विकेट लिइन् ।
यसअघि दुबईको आईसीसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली संयुक्त अरव इमिरेट्स (यूएई)) ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रन बनाएको थियो । ।
यूएईका लागि चामानी सेनेभिरत्नाले सर्वाधिक ५२ रन, थिर्था सतिसले ४७ र कभिसा इगोडेजले २२ रन बनाइन् ।
बलिङमा नेपालकी कविता कुँवरले दुई तथा सवनम राई, सीता रानामगर र संगीता राईले एक–एक विकेट लिइन् ।
जितसँगै यूएईले टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाएको छ । ६ टोली सहभागी छनोट खेलमा यूएई एक्लो अपराजित टोली हो ।
शीर्षस्थानमा रहेको यूएईको १० अङ्क छ । दोस्रो स्थानमा रहेको नेपालको ६ अङ्क छ ।