पाकिस्तानले सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीको आयोजना गर्ने भएको छ । आईसीसीको यो निर्णयपछि भारतीय टोली च्याम्पियन्स ट्रफीमा भाग लिन पाकिस्तान जाने कि नजाने भन्नेमा सबैभन्दा धेरै प्रश्न उठिरहेको छ ।
यस विषयमा खेलकुद तथा युवा मन्त्री अनुराग ठाकुरले समय आएपछि भारत सरकार र गृह मन्त्रालयले यस विषयमा निर्णय लिने बताए । अन्तर्राष्ट्रिय खेलमा सबै पक्षमा ध्यान दिनुपर्ने मन्त्री ठाकुरको भनाइ छ ।
मंगलबार आईसीसीले सन् २०२४ देखि २०३१ सम्म हुने च्याम्पियन्स ट्रफीका १४ आयोजक राष्ट्रको नाम सार्वजनिक गरेको थियो । यससँगै पाकिस्तान क्रिकेट बोर्डका अध्यक्षले च्याम्पियन्स ट्रफीसँग सम्बन्धित कुनै पनि समस्या नहुने आशा व्यक्त गर्दै यसमा कुनै परिवर्तन नहुने बताएका छन् ।
सञ्चारमाध्यमसँगको कुराकानीमा अनुराग ठाकुरले सुरक्षाको कमिका कारण विगतमा पनि धेरै देशले पाकिस्तानमा खेल्न अस्वीकार गरेको बताए । त्यहाँ खेल्ने क्रममा केही खेलाडीमाथि आक्रमण पनि भएको र यो विषयलाइ गम्भीर रूपमा लिनु पर्ने बताए ।
हालसम्म प्राप्त जानकारीअनुसार पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफीमा १५ वटा प्रतियोगिता खेल हुनेछन् जसमा ८ टिमको सहभागिता रहनेछ ।