नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल प्रवेश गर्न बंगलादेशविरुद्ध राम्रो नतिजा निकाल्ने बताएका छन्।
बंगलादेशविरुद्धको खेलअघि मंगलबार सम्पन्न प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले फाइनल पुग्न राम्रो नतिजा निकाल्ने स्पष्ट पारेका हुन्। माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज (बुधबार) बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ। पाँच राष्ट्र सहभागी प्रतियोगिताबाट उत्कृष्ट दुई टोली फाइनलमा पुग्नेछन्।
मालेस्थित नेशनल रंगशालामा नेपाल र बंगलादेशबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ। बंगलादेशविरुद्ध मैदान उत्रिँदा नेपाल ऐतिहासिक उपलब्धि प्राप्त गर्ने लक्ष्यमा हुनेछ। नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सकेको छैन। तर, बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ। नेपालले साफमा सेमिफाइनलभन्दा माथि जान सकेको छैन।
‘बुधबारको खेल महत्वपूर्ण हुनेछ तथा हामीलाई जित वा बराबरीको आवश्यकता हुनेछ,’ उनले भने, ‘फाइनलमा पुग्न चार वटै देशका लागि जितका लागि दबाब हुनेछ। भारतमाथि पनि त्यस्तै खाले दवावमा छ। बंगलादेशलाई पनि जितको आवश्यकता छ । यस पटक हाम्रो टोलीले दवावलाई झेल्न सक्छ।’ प्रिम्याच कन्फ्रेन्समा नेपाली टिमका गोलकिपर विशाल श्रेष्ठले बंगलादेशविरुद्ध सकारात्मक सोचसहित मैदान उत्रने बताएका छन्। ‘लामो समयको हाम्रो तयारी इतिहास बनाउनका निम्ति दबाबभन्दा पनि सुन्दर मौका र अवसर हो,’ उनले भने, ‘अवसरलाई सदुपयोग गर्न सबै जना सकारात्मक सोचका साथ अगाडी बढेर राम्रो खेल्ने हो। हामीले देशका लागि अहिले नगरे कहिले गर्न भन्ने सोच अनुसार प्रस्तुत हुनेछौँ।’
प्रतियोगितामा नेपाल ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। अब नेपाललाई फाइनल पुग्न मात्र एक अंकको आवश्यकता छ। ६ अंक नै भएको माल्दिभ्स गोल अन्तरमा अघि रहँदै शीर्ष स्थानमा छ। पाँच अंक जोडेको भारत तेस्रो तथा चार अंक जोडेको बंगलादेश चौथो स्थानमा छ।
बुधबार नै भारत र माल्दिभ्सबीच खेल हुँदैछ। नेपालले सुरुआती दुई खेलमा लगातार जित निकालेको थियो। माल्दिभ्सलाई १–० ले हराएको नेपालले श्रीलंकालाई ३–२ ले हराएको थियो। तेस्रो खेलमा गत आइतबार नेपाल भारतसँग १–० ले पराजित भएको थियो।