यु–२३ एसियन कप क्वालिफायरको क्याम्पका लागि एमयूएफसी विजयचोकका प्रमुख खेलाडी सञ्जीव विष्ट छानिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू–२३ एसियन कप क्वालिफायरको क्याम्पका लागि प्रारम्भिक ३५ सदस्यीय टोली सार्वजनिक गर्दा एमयूएफसी विजयचोकका विष्ट छानिएका हुन् ।
हाल काठमांडौँमा शहिद स्मारक सी डिभिजन क्वालिफायरमा नकआउट चरणका खेल चलिरहेका छन् । उक्त प्रतियोगितामा विष्टले एमयूएफसी विजयचोकबाट उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
सी डिभिजन क्वालिफायर अघि विष्टले स्कुल र केही स्थानीय फुटबल प्रतियोगिता मात्रै खेलेका थिए । उनले यो भन्दा पहिला औपचारिक रुपमा कुनै प्रशिक्षण पनि लिएका थिएनन् तर आफैँले आफैँलाइै प्रशिक्षित गरेका थिए ।
२०२१ मा क्लबको शुरुवातपछि उनले आफ्नो कौशल, मेहनत र लगनशीलताले सबैलाई प्रभावित गरेका थिए । उनले सी क्वालिफायारको दुवै खेलमा शानदार प्रदर्शन गरेका थिए । उनी साथी समूहविरुद्धको पहिलो खेलमा म्यान अफ म्याच भएका थिए ।
उनले झापा एफसीविरुद्धको दोस्रो खेलमा शानदार गोल गरेका थिए, जुन खेलमा जितको लागि अति नै आवश्यक थियो । यी दुई खेलहरु उनको लागि महत्वपूर्ण सावित भए, जसका कारण उनीको क्षमतालाई एन्फाले चिन्यो र यू–२३ एसियन कप क्वालिफायरका लागि छान्यो ।
विष्ट यू–२३ एसियन कप क्वालिफायरका लागि छनोट भएपछि एमयूएफसी विजयचोकमा खुसीयाली भएको छ । विष्ट यू–२३ एसियन कप क्वालिफायरका लागि छनोट हुनु क्लबको लागि गर्वको क्षण रहेको एमयूएफसी विजयचोकले जनाएको छ ।
यू–२३ एसियन कप क्वालिफायरका लागि छनोट भएपछि विष्टले भने, ‘एमयूएफसी विजयचोकमाथि धेरै नै आभारी छु । मलाई उक्त खेलमा आफ्नो क्षमता देखाउने मौका दिएकोमा । म खुशी छु कि मलाई यू–२३ शिविरको बोलाइएको छ । यू–२३ एसियन कप क्वालिफायर क्याम्पमा सतप्रतिशत दिने प्रयास गर्नेछु ।’
यू–२३ क्याम्पको लागि विष्ट छनोटबारेमा क्लबका प्रवन्धक विवेक थापाले भने, ‘हामीलाई थाहा थियो, सञ्जीव निकै नै क्षमतावान व्यक्ति हो भनेर । सम्पूर्ण क्लब उनको लागि खुशी छौँ । हामी उनको भविष्य राम्रो होस् भन्ने शुभकामना दिन चाहन्छौँ ।’