एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स–११ ले साविक विजेता ललितपुर प्याट्रियोट्सलाई सात विकेटले हराएको छ ।
शनिबार कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ललितपुरले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ५७ रन बनाएको थियो ।
जवाफमा काठमाडौंले १४ ओभर २ बलमा मात्र तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।
काठमाडौंका लागि रायन बर्लले ७३, रहमानुल्लाह गुरबाजले ५९ र राजु रिजालले १९ रन बनाए ।
ललितपुरका लागि पवन सरार्फले ६१, योगेन्द्र सिंह कार्कीले ३३ बनाएका थिए ।
काठमाडौं किंग्स–११ का जितेन्द्र मुखियाले ४ विकेट लिए । त्यस्तै, सन्दीप लामिछानेले ४४ र शाहिद अफ्रिदीले ३२ रन खर्चिए ।
असोज २३ सम्म चल्ने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख हात पार्ने छन् ।