अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन्। यही असोज ३१ आइतबार जापानको नागोया सहरस्थित नागोया कङग्रेस सेन्टर इभेन्ट हलमा आयोजना हुने सो प्रतियोगितामा उनी जापानका व्यवसायिक किक बक्सर फुजीमुरासँग रिङ्मा उत्रदैछन्। फुजीमुरा पनि के वान के बक्सिङ प्रतिस्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन्।
आज सामाजिक सञ्चालमा के वान क्लबले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा बक्सरद्वय अविरल र फुजीमुरा बीचमा भिडन्त हुने जनाएको छ। ‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले गत चैतमा जापानको टोकियो सहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गरेका थिए। उनले जापानी व्यावसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए।
यसैगरी अविरलले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारेका थिए।अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले कोरोना कहरमा बीचमा सो प्रतियागिताका लागि पिताकै विशेष प्रशिक्षणमा तयारी थलेकाे जनाइएको छ। उनले आज सामाजिक सञ्जालमार्फत प्रतियोगिताको आवश्यक तयारी सुरुआत भएको जनाएका हुन्। प्रशिक्षक देवले पनि सामाजिक सञ्जालमा भनेका छन्, “युवा बक्सर अविरलले पछिल्लो समय बक्सिङमा नयाँ उचाइ हासिल गर्नुभएको छ। के वान सुपर वेल्टरवेट सुपर फाइट’ चुम्नेमा म विश्वस्त छु । यो प्रतियोगितमा छनोट हुुनु आफँैमा प्रतिष्ठाको विषय हो।”