पानीको अभाव झेल्दै आएका बासिन्दाको समस्या हटेको छ ।
विगत लामो समयदेखि पानीको समस्यामा रुमलिएका यहाँका स्थानीयसीको पिखुवा खोला मानेभञ्याङ लिफ्टिङ आयोजनाको काम समापन भएसँगै समस्या हटेको हो । पानीका कारण स्थानीयवासीले गाउँ नै छाड्दा यो ठाउँ प्राय खाली जस्तै बनेको छ । विगतमा ८७५ घर रहेकामा यहाँ अहिले ४२० घर मात्र बाँकी छन् । पानीको पर्खाईमा लामो समय बिताएका उहाँहरुको सपना अब भने पूरा भएको छ । रामप्रसादराई गाउँपालिका– ५ मा रहेको यो स्थानमा धेरै खेतीयोग्य तथा उर्वरभूमि छ ।
बस्ती छाडेर स्थानीयवासी बाहिर जाँदा धेरै जमिन बाँझिएका छन् । बस्ती उजाड बनेको छ । एक मात्र पानीको विकल्पमा बसेका स्थानीयवासीलाई तीन हजार २०० मिटर तल रहेको विखुवा खोलामा डिप बोरिङ गरेर पानी बस्तीसम्म पु¥याइएको हो । यहाँको पानीको समस्यालाई ध्यानमा राख्दै २०७३ साल जेठ महिनाबाट खानेपानी आयोजनाको काम सुरु गरिएको थियो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु १२ करोड ४५ लाख लागतमा खानेपानी आयोजनाको काम सम्पन्न गरिएको आयोजना उपभाक्ता समितिका अध्यक्ष दीपक तामाङले जानकारी दिए । उनका अनुसार यहाँका ४२० धारामा पानी पुगेको छ भने पानीलाई बस्तीसम्म लैजानका लागि मुख्य लाइनमा ४० हजार लिटर क्षमताका चार ट्याङ्की निर्माण गरिएका छन् ।
त्यस्तै बस्तीमा पानी वितरणको लागि ७५ र ५५ हजार लिटरको ट्याङ्की निर्माण गरिएको छ । त्यस्तै २० हजार लिटर क्षमताका छ शाखा ट्याङ्की निर्माण गरिएका छन् । आयोजना सम्पन्न भए पनि यसको दिगो व्यवस्थापनका लागि मासिक रु २०० न्यूनतम शुल्क तोकिएको छ ।त्यस्तै न्यूनतम शुल्क भन्दा बढी पानी उभोग गर्ने उपभोक्ताले प्रतिलिटर १५ पैसाका दरले शुल्क बुझाउने व्यवस्था गरिएको अध्यक्ष तामाङको भनाइ छ ।