वास्तवमा भन्ने हो भने मानिसलाई उसको सपनाले जीवित राख्छ, श्वासले हैन। श्वासले त शरीर कुहिन नदिने मात्रै हो। मानिसमा सपना देख्ने बानी हुँदैन्थ्यो भने हाम्रो जीवन अति नै निस्सार हुन्थ्यो, उराठलाग्दो हुन्थ्यो।
तर, जसरी सपना मानिसका लागि बाँच्ने प्रेरणाको स्रोत हो, त्यसरी नै यो मानिसको बेचैनीको पनि स्रोत हो। सपनाले त कहिलेकाहीँ उसलाई निदाउन दिँदैन। त्यसैले नै भनिएको हो– सपना त्यो होइन, जुन हामी सुतेको समयमा देख्छौँ, बरु सपना त त्यो हो जसले हामीलाई निदाउन दिँदैन।
जति ठूलो सपना, उति नै बेचैनी।
त्यस युवकको हाल पनि यस्तै थियो। उसलाई पनि उसका सपनाले निदाउन दिइरहेको थिएन।
उसको सपना थियो, एउटा कुशल लेखक बन्ने। तर, उसलाई थाहा थिएन, कहिले बन्ने, कसरी भन्ने? त्यसैले ऊ पर्खाइमा थियो, सही समयको। र, सहँदै थियो, पर्खाइले दिने पीडा पनि।
ऊ सानैदेखि एकोहोरो स्वभावको थियो। सबैबाट टाढा गएर एक्लै सोच्दै बस्थ्यो। ऊ जति जति ठूलो हुँदै गयो, उसमा यो स्वभाव झन् बढ्दै गयो। जीवनको एक समयमा ऊ कति एकोहोरिने भएको थियो भने उसको दिमागी हालत नै विकृत हुन पुगेको थियो, मस्तिस्कको उपचार नै गर्नुपरेको थियो।
उसको यो बानीले परिवार आजित थियो।
बाबु उसलाई इन्जिनियर बनाउन चाहन्थे। तर, उसलाई इन्जिनियरिङमा किञ्चित रुची थिएन। ‘तैँले इन्जिनियर बन्नैपर्छ!’ भन्ने बाबुको प्रेसर थेग्न नसकेरै ऊ एक दिन घरबाट भाग्छ, हिप्पीहरुसँग।
त्यसपछि ऊ हिप्पीहरुसँगै एक गाउँदेखि अर्को गाउँ, एक शहरदेखि अर्को शहर चहार्दै हिँड्छ, सधैँ दिमागमा लेखक बन्ने भूत सवारेर।
आफ्नो सपनालाई आकार दिन सही ठाउँ र मानिसको खोजीमा ऊ कहाँ–कहाँ मात्र भौँतारिँदैन, के–के मात्र गर्दैन?
भौँतारिँदा–भौँतारिँदै एक दिन उसको भेट एक अपरिचितसँग हुन्छ, एम्सटर्डेमको एउटा क्याफेमा। उसलाई देख्नेबित्तिकै अपरिचितले बुझिहाल्छ कि, युवक कथा र कथा लेख्ने प्रेरणाको खोजीमा छ।
त्यसैले, अपरिचितले भन्छ– धेरै यताउता नभौँतारिऊ, बरु स्पेनस्थित सान्टियागो डे कन्पोस्टेला जाऊँ।
अपरिचितले उसलाई त्यहाँसम्म पुग्ने उपाय पनि बताँउछ। ‘त्यो ईसाई धर्मावलम्बीहरुको तीर्थस्थल हो। मानिसहरु त्यहाँ पैदलै पुग्छन्। तिमी पनि जाऊँ, के थाहा, धेरैको जस्तै तिम्रो पनि भाग्यको ढोका खुल्न सक्छ’, अपरिचितले सुझाउँछ।
उसलाई अपरिचितको सुझाव मन पर्छ। त्यसपछि ऊ सन्तरुको भूमिका लागि रमाना हुन्छ।
जसरी मुश्लिमहरु जीवनमा एकपल्ट भए पनि ‘मक्का मदिना’को यात्रामा निस्किन्छन्, त्यसरी नै ईसाईहरु तीन ठाउँको तीर्थयात्रामा निस्किन्छन्।
पहिलो तीर्थयात्रा, रोमको सेन्ट पिटर। यहाँ जाने यात्रीहरुलाई ‘वन्डरसर्’ भनिन्छ। ‘वन्डरर्स’हरु हातमा क्रस लिएर हिँड्छन्। दोस्रो तीर्थयात्रा, जेरुशेलमस्थित जिसस क्राइस्टको समाधीस्थल। यहाँ जाने तीर्थ यात्रीहरुलाई ‘पामिस्ट’ भनिन्छ। उनीहरु हातमा खजुरको हाँगा बोकेर हिँड्छन्। र तेस्रो वा अन्तिम चाहिँ, सेन्टियागो डे कम्पोस्टेला।
जसरी भारतमा एकै व्यक्ति वा सन्तलाई अलग अलग नामले चिनिन्छ, ठीक त्यसरी नै सेन्टियागोलाई पनि विभिन्न नामले चिनिन्छ। विभिन्न नाममध्ये एउटा हो, सेन्ट जेम्स।
यस धार्मिकस्थलमा महान् सन्त जेम्सलाई गाडिएको थियो।
यो त्यहीँ ठाउँ हो, जहाँ एक रात, गोठालाले विशाल मैदानमा एक चम्किलो तारा देखेको थियो। त्यसैले यो ठाउँलाई तारा मैदान वा कम्पोस्टेला भनिन्छ।
युवक त्यहाँ पुग्न करिब ५ सय किलोमिटर बाटो पैदलै हिँड्छ। उसले बाटामा पाइलैपिच्छे उसले कथा, दन्त्यकथा देख्छ। उसले आस्थाका कथा भेट्छ, अनास्थाका कथा भेट्ट। ती कथाहरु सतही रुपमा हेर्दा सामान्य देखिए पनि गहिरिएर हेर्दा हरेक कथामा रहस्यै रहस्य हुन्छ।
उसले त्यहाँ यस्तो संसार भेट्छ, जुन तर्क–वितर्क भन्दा पर हुन्छ। जहाँ शब्द र भाव हुन्छन्। तिनीहरु अनन्त धागाले गाँसिएका हुन्छन्।
ती सबै चिजहरु उसमा प्रवेश गर्छन्।
सन् ११२३ मा फ्रान्सेली पुजारी, आयामेरिक पिकाउड सबैभन्दा पहिला यो बाटो भएर हिँडेका थिए।
हरेक यात्रामा हजारौँ कथाहरु यात्रीलाई पर्खिरहेका हुन्छन्, हजारौँबाट लाखौँ बन्न। ती लाखौँ कथाहरु मिलेर संसारका मानिसहरुमा बन्धुत्वको भाव उत्पन्न गराउने काम गर्छन्, मानिसहरुलाई एकआपसमा जोड्ने काम गर्छन्।
धार्मिक तीर्थस्थलहरु यस्ता लाखौँ कथाका स्रोत हुन्।
‘सान्टियागो डे कन्पोस्टेला’को तीर्थयात्रामा निस्किएको ती युवक थिए, विश्वविख्यात लेखक पाओलो कोएलो। र, त्यही तीर्थयात्राले आज कोएलोलाई कोएलो बनाएको हो।
यात्रापश्चात उनले ‘द पिलग्रिमेज’ र यसलगत्तै ‘द अल्केमिस्ट’ लेखे।
जुन बच्चालाई बाबुआमाले असफल मानेर दुत्कारेका थिए, त्यही बच्चाले पछि गएर संसार हल्लाउने पुस्तक लेख्यो।
उनका पुस्तक दशौँ भाषामा अनुदित भएर संसारभर फैँलिएका छन्, करोडौँ पाठकले पढेका छन्।
पाओलो कोएलो संसारकै धेरै पढिने लेखकमध्येका एक हुन्।
कोएलो भन्छन्– हरेक दिन आफ्नो सपनालाई सम्झ र त्यसलाई पूरा गर्न हरेक दिन लड। हामीलाई थाहा हुनुपर्छ, हामीलाई आफ्नो जीवनबाट के चाहिएको हो भनेर।
असफल भइने डरलाई कहिल्यै आत्मसात नगर। यो एकदमै हानिकारक भाव हो, जसले हामीलाई हाम्रो सपना चुम्नबाट असफल बनाइदिनसक्छ।
एजेन्सी