नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टिम काठमाडौं आइपुगेको छ । भारतीय प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय टिम सोमबार नेपाल आइपुगेको हो ।
साफ च्याम्पियनसिपअघि नेपाल र भारतबीच खेल हुन लागेको हो । नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएको छ । ती १९ मध्ये भारतले १३ खेलमा जित हात पारेको छ । नेपाल केवल २ खेलमा मात्र विजयी भएको छ । ४ खेल भने बराबरीमा सकिएका छन् ।
भारतले नेपालको पोस्टमा ३३ गोल गरेको छ । नेपालले भने ९ गोल मात्र गर्न सकेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने बित्तिकै भारतीय टिमका कप्तान सुनिल क्षेत्रीले म्याचमा नेपाल नेपाली टिमलाई कमजोर नआँक्ने बताए ।
उनले नेपालसँगको खेल आफूहरूका लागि महत्वपूर्ण रहेको समेत उल्लेख गरे ।
खेलमा दर्शकलाई प्रवेश दिने विषयमा मंगलबारसम्ममा निर्णय हुने अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाको भनाइ छ । एन्फाले खेलमा भ्याक्सिन लगाएका र पिसिआर टेस्टमा नेगेटिभ आएकालाई रंगशालामा प्रवेश दिने प्रस्ताव गरेको छ ।