टोकियो ओलम्पिकअन्तर्गत पुरुष हक्कीको सेमिफाइनलमा बेल्जियमले भारतलाई पराजित गरेको छ ।
विश्व च्याम्पियन बेल्जियमले भारतलाई ५–२ ले हराएको हो । हारपछि भारतीय कप्तान मनप्रित सिंहले भने, ‘यो समय मेरो लागि धेरै गाह्रो समय हो । किनभने हामी जित्ने लक्ष्यका साथ आएका थियौँ, तर दुर्भाग्यवश हामी जित्न सकेनौँ । तर, अब हाम्रो सम्पूर्ण ध्यान बिहीबार हुने खेलमाथि हुनेछ ।’
अब कास्य पदकका लागि भारतले अस्ट्रेलिया र जर्मनीमध्ये एकको सामना गर्नेछ । यस प्रतिस्पर्धा जित्न सकेमा भारतीय पूरुष टिमलाई ४१ वर्षपछि ओलम्पिक पदक प्राप्त हुनेछ ।
२०१२ को लण्डन ओलम्पिकमा बेल्जियमले भारतलाई ३–० ले हराएको थियो । त्यसैगरी २०१६ को रियो ओलम्पिकमा ३–१ ले हराएको थियो । लण्डनमा समूह चरण र रियोमा क्वाटरफाइनलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो ।
बेल्जियमको टिम यस ओलम्पिकमा सर्वाधिक गोल गर्ने टिम हो । उसले अहिलेसम्म ३४ गोल गरिसकेको छ । सेमिफाइनलमा पनि यस टोलीका खेलाडीहरु निकै लयमा देखिए ।
त्यसैगरी डिफेन्समा बेल्जियमलाई विश्वकै बलियो टिम मानिन्छ । त्यसको प्रमाण यस ओलम्पिकमा पनि देखियो । उसले अहिलेसम्म सबैभन्दा कम १० गोल खाएको छ । जारीओलम्पिकमा सेमिफाइनलसम्म १८ गोल गरेको भारतले १४ गोल खाएको छ ।