शनिबार रातीको खेलमा पोर्चुगलमाथि जर्मनीले शानदार जित हात पारेको छ। तीनपटकको विजेता जर्मनीले साबिक विजेता पोर्चुगललाई ४–२ को फराकिलो अन्तरले पराजित गर्यो। जितसँगै जर्मनीलको प्रिक्वार्टरफाइनलको आशा पनि जीवित रह्यो।
दोश्रो खेलमा जर्मनीसँग पराजित भएसँगै पोर्चुगल अंकतालिकाको तेस्रो स्थानमा झरेको छ। जर्मनी पहिलो खेलमा १–० ले फ्रान्ससँग पराजित भएको थियो भने पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो। अंकतालिकाको शिर्षमा फ्रान्स (४ अंक) छ।
जर्मनी र पोर्चुगलले समान दुई खेलबाट तीन–तीन अंक जोडेका छन्। गोलअन्तरमा जर्मनी दोस्रो स्थानमा छ। एक अंक बटुलेको हंगेरी चौथो स्थानमा छ। पोर्चुगलको हारमा चार मिनेटको अन्तरमा भएका दुई आत्मघाती गोल मुख्य रह्यो। दुई डिफेन्डरले आफ्नै पोस्टमा गोल गर्दा पोर्चुगललाई खेलमा फर्कन कठिन भएको हो।
पोर्चुगलका लागि रुवेन डियास तथा राफयल गुइरेरोले आत्मघाती गोल गरेका हुन्। खेलको ३५औँ मिनेटमा डिफेन्डर डियासले काइ हाभेर्जको प्रहारलाई क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा बल छिराए। यो गोलसँगै जर्मनीले खेल १–१ को बराबरी गरेको थियो।
खेलको ३९औँ मिनेटमा राफायलले आत्मघाती गोल गर्न पुग्दा जर्मनीले खेलमा २–१ को अग्रता लियो। जर्मन खेलाडी जोसुआले प्रहार गरेको कट ब्याक बचाउने क्रममा राफायलले आफ्नै पोस्टमा बल छिराएका थिए। यसअघि खेलको पाँचौँ मिनेटमै जर्मनीले पोर्चुगलमाथि १–० को अग्रता लिएको थियो। तर, भिएआरमा सर्जी जिनाब्रीको उत्कृष्ट गोल अफसाइड देखिएको थियो। जसका कारण जर्मनीले अग्रता गुमायो।
खेलको १५औँ मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले काउन्टर एट्याक्टमा पोर्चुगललाई १–० को अग्रता दिलाए। डिएगो जोटाले सानो डिबक्सबाट दिएको क्रस पासमा रोनाल्डोले सहजै गोल गरे। रोनाल्डोले चालू युरोकपमा व्यक्तिगत तीन गोल पु¥याएका छन्। समग्रमा युरोकपमा उनको व्यक्तिगत १२औँ गोल हो । साथै, रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा एक सय सात गोल पु¥याएका छन्। अब इरानका अली दाईले राखेको विश्वकीर्तिमान एक सय नौ गोल बराबरी गर्न रोनाल्डोलाई दुई गोल आवश्यक छ।
रोनाल्डोको गोलसँगै पोर्चुगलले नकआउट चरण पुग्ने आशा बलियो बनाएको थियो। जर्मनी भने हारबाट पहिलो चरणबाटै बाहिरिन सक्थ्यो। तर, जर्मनीले पोर्चुगलविरुद्ध आफ्नो परम्परागत फुटबल खेल्ने शैलीमै प्रतिस्पर्धालाई निरन्तरता दिइरह्यो। पोर्चुगलविरुद्ध जर्मनीले काउन्टर एट्याक्ट, लङ पास, डिबक्सभित्र हेडिङ गोल प्रयास तथा काउन्टर रणनीति अपनाएको थियो। पोर्चुगलले केवल काउन्टरमा मात्र जर्मनीमाथि दबाब राख्ने कोसिस गरेको थियो। दोस्रो हाफमा जर्मनीले थप दुई गोल गर्दै आफ्नो जित पक्का पा¥यो।
खेलको ५१औँ मिनेटमा हाभेटज तथा खेलको ६०औँ मिनेटमा गोसेन्सले गोल गर्दा जर्मनी ४–१ को बलियो स्थितिमा पुग्यो। पोर्चुगलका लागि खेलको ६७औँ मिनेटमा जाटाले एक गोल गर्दै पोर्चुगललाई ४–२ को अन्तरमा ल्याए।