राजनीतिक अस्थिरता बढेसँगै नेकपा एमालेले सुदुरपश्चिम सरकारबाट आफ्नो समर्थन फिर्ता लिने निर्णय गरेको थियो। निर्णयअनुसार २ दिनअघि उसले नेकपा माओवादी नेतृत्वको प्रदेश सरकारबाट आफ्ना मन्त्रिहरुलाई फिर्ता बोलाएको थियो।
तर, बुधबार एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले पार्टी अध्यक्ष ओलीलाई जोरदार झट्का दिएको छ। उसले माओवादी केन्द्र नेतृत्वको सरकारबाट तत्काल समर्थन फिर्ता नलिने निर्णय गर्यो। बुधबार विहान बसेको दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको एक प्रदेशसभा सदस्यले जानकारी दिए।
सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन्। सभामुखबाहेक २४ जनामा नेपाल पक्षका १८ र ओली पक्षमा ६ जना सांसद छन्।
एमालेको माधव नेपाल पक्षको बहुमत रहेको सुदूरपश्चिम प्रदेश संसदीय दलले केन्द्रलाई चुनौती दिएको हो। पार्टी केन्द्रले नेपाल पक्षमा प्रदेश सांसदमाथि कारबाही गरेको खण्डमा विपक्षी दल नेपाली काँग्रेसको समर्थन माओवादी सरकारलाई अनिवार्य बन्ने छ।