काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापामगरले विश्वासको मत लिन लागेका हुन्। त्यसका लागि आज दिउँसो १ः०० बजे प्रदेश सभाको बैठक बोलाइएको छ।
विश्वासको मतको पक्षमा मतदान गराउन सत्ता साझेदार दलहरूले ह्विप जारी गरेका छन्। सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले आफ्ना २६ जना प्रदेश सभा सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिएका छन्। मुख्यमन्त्री थापाको आफ्नै दल नेकपा एमालेले पनि आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्न ह्विप लगाएको छ।
सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र भने तीव्र विवाद देखिएको छ। राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले आइतबार ह्विप जारी गर्दै विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएकी छन्। यद्यपि सरकारमा सहभागी राप्रपाका खानेपानी मन्त्री राजु विष्टले भने तामाङलाई सरकार गठन हुनुअघि नै संसदीय दलका नेता उद्धव थापाले सचेतकबाट हटाइसकेको दाबी गरेका छन्।
नेकपा एमाले, नेकपा र राप्रपाको समर्थनमा गत भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थापालाई दिएको समर्थनलाई लिएर राप्रपा केन्द्रले असन्तुष्टि जनाएको थियो। केन्द्रीय निर्णय विपरीत मुख्यमन्त्रीलाई समर्थन गरेको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई कारबाही गर्नुका साथै सरकारमा सहभागी तीन मन्त्रीलाई स्पष्टीकरण सोधिसकेको छ। यस्तो अवस्थामा राप्रपाका १२ जना प्रदेश सभा सदस्यहरूको आजको उपस्थिति र मतदानलाई निकै चासोका साथ हेरिएको छ।