आगामी रणनिती तय गर्न बसेको विपक्षी गठबन्धनका ५ पाँच शीर्ष नेताबीचको छलफल सकिएको छ। सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेबाट निष्काशीत माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलवीच आगामी रणनितीबारे छलफल भएको हो।
काँग्रेस नेता रमेश लेखकले छलफलमा कानुनी लडाइँबारे कसरी अघि बढ्ने र कतिपय सांसदहरुको ठेगानामा भएको त्रुटीलाई सच्चाउने विषयमा पनि छलफल भएको सहभागी जानकारी दिए। ‘अब हामी अगाडि कसरी बढ्ने भन्नेबारेमा छलफल भएको छ । सम्भवतः भोलि, पर्सिदेखि अदालतमा हुने मुद्दाको बहस र त्यसका लागि कानुन व्यवसायीको व्यवस्थापनबारे छलफल हो,’ उनले भने, ‘बहसका लागि कसलाई अनुरोध गर्ने भन्ने बारेमा छलफल भएको छ।’
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिटका विषयमा नै केन्द्रित भएर शीर्ष नेताहरूबीच छलफल भएको लेखकले बताए। विपक्षी गठबन्धनले सोमबार प्रतिनिधिसभा विघटन बदर र बहुमत भएकाले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको माग गर्दै १ सय ४९ सांसदले रिट दर्ता गरेका थिए। उनीहरुले यसअघि जेठ ७ गते ७६ (५) अनुसार प्रधानमन्त्री दाबी गर्दै राष्ट्रपति कार्यालयमा आधार पेश गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेकी थिइन्।