नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ। बालुवाटारमा बसेको बैठकले ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको हो। खनाल, नेपाल सहितका स्पष्टीकरण सोधिएका ११ नेताले स्पष्टीकरण नबुझाएपछी पार्टीबाट निष्काशन गर्ने निर्णय लिइएको हो।
माधव–झलनाथ समुहले पार्टीको निर्णयविपरीत नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापनाका लागि हस्ताक्षर गरेर पार्टी गतिविधि विरुद्ध लागेको बैठकले ठहर गरेको छ। यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो।
बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्य नै नरहने गरी कारवाही गरेको हो।