युरोपियन लिगका खेलहरु सिजनको अन्त्य हुनै लाग्दा झन् रोचक बन्दै गएका छन्। केही लिगहरुमा उपाधिका लागि कडा प्रतिस्पर्धा भइरहेको छ भने केही लिगमा टोलीहरु शीर्ष ४ मा पर्नका लागि भिडिरहेका छन्।
इंग्लिस प्रिमियर लिगको जारी सिजनको उपाधि म्यानचेस्टर सिटीले जितिसकेको छ। उपाधि प्रतिस्पर्धा सकिए पनि प्रिमियर लिगका खेलहरुको धेरैको ध्यान खिचिरहेको छ। कारण हो, च्याम्पियन्स लिगमा स्थान बनाउनु।
लिगको शीर्ष ४ मा पर्ने टोलीले अर्को सिजनको च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउनेछ। शीर्ष ४ मा नपर्ने टोलीले युरोपा लिग खेल्नुपर्ने हुन्छ। त्यसैले हाल प्रिमियर लिगको शीर्ष ४ मा अटाउन चेल्सी, लेस्टर सिटी र लिभरपुलबीच कडा टक्कर देखिएको छ। चेल्सीले लेस्टरविरुद्ध २–१ को जित निकाल्दै तेस्रो स्थानमा एक अंकको अग्रता बनाएको छ।
चेल्सी ३७ खेलबाट ६७ अंकका साथ तेस्रो स्थानमा रहँदा लेस्टर ६६ अंकका साथ चौथो स्थानमा छ। एक खेल कम खेलेको लिभरपुल ६३ अंकका साथ पाँचौ स्थानमा छ। चेल्सीले एस्टन भिल्लासँग खेल्न बाँकी छ। उक्त खेलमा विजयी भएमा चेल्सीले तेस्रो स्थानमा रहँदै सिजनको अन्त्य गर्नेछ। लेस्टरले टोटनह्यामसँग खेल्न बाँकी छ। उक्त खेलमा विजयी भए पनि लेस्टर अन्तिम ४ मा पर्न चेल्सी र लिभरपुलको खेलको नजिता निर्णायक हुन्छ। लिभरपुलले बर्नेली र क्रिस्टल प्यालेजसँग खेल्न बाँबी छ। दुबै खेलमा विजयी भएमा लिभरपुल शीर्ष ४ मा पर्ने पक्का छ।
चेल्सीले बाँकी खेलमा पराजित भई लेस्टर र लिभरपुलले आफ्नो बाँकी खेलमा विजयी भएमा लेस्टर र लिभरपुल शीर्ष ४ मा पर्नेछ। तर, चेल्सीले उक्त खेल जितेमा र लिभरपुलले दुबै खेल जितमा चेल्सी र लिभरपुलले शीर्ष ४ मा पर्नेछ। चेल्सीले बाँकी खेल जितेमा र लेस्टर पनि बाँकी खेल जितेर लिभरपुलले एक खेल हारेमा लेस्टर र चेल्सी शीर्ष ४ मा पर्नेछ।