खुकुरी नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौं रेजर्सले जितेको छ। शनिबार दशरथ रंगशालमा भएको फाइनल खेलमा धनगढी सिटी एफसीलाई १–० पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो।
प्रतिस्पर्धात्मक खेलको २१ औं मिनेटमा काठमाडौंले शुरुवाती अग्रता बनाएको थियो। काठमाडौंका लागि एकमात्र निर्णायक गोल मेसौके ओलुमोउले गोल गरेका हुन्। विशाल राईबाट बल खोस्दै विश्वास श्रेष्ठले दिएको पासमा मेसौके उत्कृष्ट गोल गरेका थिए।
काठमाडौंले प्लेअफमा बिहीबार ललितपुर सिटीलाई पन्छाउँदै फाइनलमा धनगढीसँगको भेट पक्का गरेको थियो। धनगढीले प्ले अफमा काठमाडौंलाई अतिरिक्त समयमा २–१ को जित निकाल्दै फाइनल यात्रा पक्का गरेको थियो।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा ११ बैशाखबाट शुरु भएको एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको थियो। राउण्ड रोबिन लिगपछि शीर्ष चार टोलीले प्ले अफ खेल्दै २ टाेलीले फाइनलमा स्थान बनाएको थियो। प्रतियोगिताको विजेता काठमाडौंले ३५ लाख रुपैयाँ प्राप्त गरेको छ। उपविजेताले धनगढीले १५ लाख रुपैयाँ हात पारेको छ।