धनुषा– प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले निःशुल्क रुपमा गर्ने बताएका छन् । मन्त्री साहले जनताको कोरोनाको परीक्षण देखि उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले नै बेहोेर्ने बताए ।
मन्त्री साहले प्रदेशका विभिन्न जिल्लामा आठ वटा पिसिआर मेसिनमार्फत कोरोनाको परीक्षण भइरहेको जानकारी दिए । उनले प्रदेश २ को प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज, रौतहटको गौर अस्पताल र महोत्तरीको बर्दिवास अस्पतालमा निःशुल्क परीक्षण गर्ने काम भइरहेको बताए ।
यसैगरी, कोरोनाको निःशुल्क उपचार जनकपुरधाम, राजविराज, वीरगन्ज, गौरमा भइरहेको मन्त्री साहले जानकारी दिए । प्रदेश सरकारले कुनै प्रकारको शुल्क नलिनका लागि प्रयोगशाला तथा कोरोनाको उपचार गर्ने अस्पताललाई निर्देशन पनि दिइसकेको सामाजिक विकासमन्त्री साहले जानकारी दिए ।