काठमाडौं– सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच भेटवार्ता भएको छ । बिहीबार नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्तिका बारेमा छलफल भएको स्रोतले बताए । आइतबार र मंगलबार बसेको सचिवालयको बैठकमा पनि दुई वर्ष मन्त्री भएकालाई बिदा दिने, प्रधानमन्त्रीबाहेक सबै मन्त्री हेरफेर गर्ने र मन्त्रालय फुटाउनेबारे छलफल भएको थियो ।
तीन मन्त्रालय भने अहिले पनि मन्त्रीविहीन छन् । जसमा अर्थ, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालय हुन् । संविधानमा २५ वटा मन्त्रालयको व्यवस्था गरिएकाले प्रधानमन्त्री केही मन्त्रालय फुटाएर पनि २५ वटा मन्त्रालय बनाउने तयारीमा लागेका छन् । जसमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने तयारी भएको स्रोतले बताए ।
आइतबार र मंगलबार बसेको सचिवालयको बैठकले दुई अध्यक्ष तथा महासचिवलाई पार्टी एकताका बाँकी काम पूरा गर्ने जिम्मेवारी दिएको छ ।