काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा सङ्घीय सांसदहरूसँग छलफल गरेकी छिन्। मन्त्री चौधरीले शनिबार मन्त्रालयमा आयोजना गरिएको बैठकमा बाढीबाट प्रभावित नागरिकहरूसम्म राहत सामग्री शीघ्र पु¥याउने विषयमा सांसदहरूसँग गहन छलफल गरेकी हुन्।
छलफलका क्रममा मन्त्री चौधरीले बाढी प्रभावित नागरिकका लागि खाद्यान्न, स्वच्छ खानेपानी, औषधि तथा लत्ताकपडा लगायतका अत्यावश्यक सामग्रीहरू ढिलाइ नगरी पु¥याउन सम्बन्धित सबै निकायहरूबिच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिइन्। उनले पीडित नागरिकको वास्तविक आवश्यकता पहिचान गरी राहतको आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन ठोस कार्ययोजनाका साथ अघि बढ्ने बताइन्।
बैठकमा सरकारी निकाय, स्थानीय तह र सरोकारवाला पक्षहरूबिच एकीकृत समन्वय कायम गरी राहत सामग्रीको आपूर्ति र वितरण कार्यलाई तीव्र पारिनेबारे छलफल भएको थियो। बाढी प्रभावित क्षेत्रमा कुनै पनि अत्यावश्यक सामग्रीको अभाव हुन नदिन उपलब्ध स्रोत–साधनको अधिकतम र प्रभावकारी परिचालन गर्ने निष्कर्ष बैठकले निकालेको छ।
उक्त छलफलमा कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरी, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बास्कोटाका साथै सांसदहरू सुरेश चौधरी, जनक सिंह धामी, ओजस्वी श्रीचन, धर्म केसी, अनुश्का श्रेष्ठ, श्रद्धा कुँवर, सृजना श्रेष्ठ र राम लामाको उपस्थिति रहेको थियो।