काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा बाढीका कारण प्रभावित भएका व्यक्तिहरूको उद्धार कार्यलाई सरकारले निरन्तरता दिएको छ।
आयोजनास्थलमा आइतबार बिहान फेरि बाढी आएपछि उद्धार टोलीलाई थप सतर्कताका साथ परिचालन गरिएको सरकारले जनाएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आयोजनाको पछिल्लो अवस्था र भएको क्षतिको पुनः मूल्यांकन गर्दै थुप्रिएको माटो तथा लेदो हटाउन डोजर र अन्य भारी उपकरण परिचालन गर्ने तयारी भइरहेको छ।बाढी तथा पहिरोका कारण आयोजनाको टनेल पोर्टल र पावर हाउस क्षेत्रमा क्षति पुगेको छ। त्यहाँ जडान गरिएका १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर तथा सेटअप बक्सजस्ता महत्वपूर्ण उपकरण निकाल्न विशेष टोली परिचालन गर्ने तयारी पनि गरिएको छ।सडकमार्गबाट आयोजनास्थलसम्म पुग्न कठिन भएपछि उपकरण उद्धारका लागि हेलिकप्टरको प्रयोग गर्ने योजना बनाइएको सरकारले जनाएको छ। पुरिएको संरचनानजिक हेलिकप्टरमार्फत विशेष टोली पुर्याएर आवश्यक उपकरण सुरक्षित रूपमा बाहिर निकालिनेछ।यसअघि बाढीका कारण आयोजनास्थलमा फसेका व्यक्तिहरूको खोज तथा उद्धार रातभर जारी राखिएको थियो। आइतबार बिहान करिब ४ बजेतिर पुनः बाढी आएपछि त्रिशूली नदीको पानीको सतहमा उल्लेख्य वृद्धि भएको बताइएको छ।जलसतह बढेसँगै नदीले आयोजनाको किनारतर्फ तीव्र कटान गर्न थालेको र थप जोखिम उत्पन्न भएको सरकारको भनाइ छ। त्यसैले उद्धार तथा क्षति व्यवस्थापनका क्रममा उच्च सतर्कता अपनाइएको छ।