काठमाडौँ ।बाढीपीडितको उद्धार तथा राहतका लागि सञ्चालनमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम दुरुपयोग गरी ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका–२, ठोसेका ३२ वर्षीय भगवान कार्की रहेका छन्।जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कार्कीले आफूले उद्धार कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको दाबी गर्दै सामाजिक सञ्जालमा त्यसको प्रमाणका रूपमा ई–सेवाको ट्रान्जेक्सन विवरण सार्वजनिक गरेका थिए।तर प्रहरी अनुसन्धानबाट उक्त रकम वास्तवमा कोषमा जम्मा नभएको खुलेको छ। कार्कीले आर्टिफिसियल इन्टेलिजेन्सको सहायताले रकम पठाएको देखिने गरी नक्कली ट्रान्जेक्सन स्टेटमेन्ट तयार पारेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको जनाएको छ।उनले सामाजिक सञ्जालमा सो नक्कली विवरणसँगै आफ्नै व्यक्तिगत क्यूआर कोडसमेत राखेर बाढीपीडितका लागि सहयोग गर्न अपिल गरेको प्रहरीको भनाइ छ। यसरी राहत कोषमै रकम जम्मा भइरहेको विश्वासमा सर्वसाधारणले उनको व्यक्तिगत खातामा पैसा पठाउन सक्ने अवस्था देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतका अनुसार पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको छ। घटनासँग सम्बन्धित डिजिटल प्रमाण तथा आर्थिक कारोबारबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।